Saturday, February 4, 2017

आफ्नै कविताको ऐनामा: ‘चिबेचरा’ - केशव सिल्वाल

लेख्नुपर्ने विषयको चौरस्तामा उभिएर म कविता सोच्ने गर्छु । मानिस र समाज मेरा कविताका मूल जरा हुन् । कवितामा समाजको प्रतिबिम्बन हुनु मेरो लागि घाम जत्तिकै आवश्यक कुरा हो । समाजलाई परहेज गरेर कविता लेख्न सकिन्न ।
केही लेखक/कवि भन्छन्- समाज लेख्नेले दैनन्दिनी मानवीय जीवन वा प्रेमको वास्ता गर्दैनन् । तर, प्रेम मानिसको मात्र अभिन्न अङ्ग होइन, यो समाजको फेबिकोल हो ।
खोलाको पानी जस्तै हो समाज । यो प्रवाहशील हुन्छ । एउटै खोलाको किनारमा हामी उभिए पनि पानीको एउटा प्रवाह बगेर अर्को प्रवाह आइसकेको हुन्छ । हामीले उभिएर हेरिरहेको पानी एउटै हुँदैन । कवि हुन खोज्नेले समाजको यस प्रवाहलाई पर्गेल्न सक्नुपर्छ ।
नेपाली साहित्यमा एकातिर सामाजिक यथार्थवादले साहित्यलाई बिगार्‍यो भन्नेहरू छन् । तिनीहरू साहित्यलाई उत्ताउलो तुक्का र स्वैरकल्पनामा पौडी खेलाउन चाहन्छन् । समाजलाई दिग्भ्रमित बनाउने यस्तो पागल प्रलापलाई साहित्य भन्न सकिन्न । ती समाजका लागि घातक हुन्छन् ।
अर्कोतिर, समाजमा दुःखसुख र जीवन सङ्घर्षका जटिलताहरूलाई साहित्यमा उन्न लागिपर्ने समूह पनि छ ।
मेरो लगाव दोस्रो समूहतिर छ ।
समाजमा दमित सीमान्त आवाजलाई मुखर बनाउन मैले ‘चिबेचरा’ कविता लेखेको हुँ । मानिसको अहिलेसम्मको अस्तित्वको लडाइँलाई यसमा उधिन्न खोजेको छु । आफ्नो पहिचान महान् भन्दै अरुमाथि दमन र अत्याचार गर्दै अर्काको पहिचानलाई दुत्कार्ने विरुद्ध कविता केन्द्रित छ ।
पहिचान भन्नेबित्तिकै निश्चित जातजाति र सम्प्रदायिकतामा लगेर जोडिदिने प्रचलन एउटा दिग्भ्रम हो, सत्यलाई गुमराहमा पार्ने प्रयास हो । हरेक जातिको आफ्नो पहिचान, संस्कृति र प्रणाली हुन्छ जसलाई राज्यले समान व्यवहार गर्नुपर्छ । त्यस्तै, हरेक व्यक्तिको पनि आफ्नो पहिचान, आफ्नो पन र स्वत्व हुन्छ ।
देश एउटा व्यक्ति वा जातिको होइन, यो सबैको हो र सबैले त्यत्तिकै देशप्रेम गरिरहेका हुन्छन् भन्ने सन्देश यो कवितामा प्रवाह गर्न खोजेको छु । आवश्यक पर्दा हरेकले देशका लागि आहुति दिन सक्छन् र दिएका पनि छन् । ‘चिबेचरा’ देशप्रेमको प्रतीक हो । यसको सान्दर्भिकता अझै छ भन्ने मेरो ठम्याइ छ ।
नेपालका कुलीन शासकले नरभक्षी पिशाच जस्तै समयको टाउकोमा टेकेर आफ्नो भद्दा तान्डव नृत्य प्रदर्शन गरे । सोझासाझा जनहरू निम्छरो भएर घरभित्रै लुकिरहे । तर, तिनले अनेक सङ्घर्ष मार्फत घरबाहिर आउने प्रयत्न जारी राखे । अन्ततः ती बाहिर निस्के । जब ती बाहिर आए बाँकी सबै नरमुण्डधारीहरू दृश्यबाट गायव भए ।
एकाङ्गी राज्यले राष्ट्रिय चरा भन्नाले डाँफेलाई मात्र बुझाउने कार्य गर्‍यो । डाँफेको रङलाई मात्र चिनायो । बाँकी रङ वर्जित भए, तिनलाई परचक्रीको व्यवहार गरियो । कलुषित राज्यले एकल जातीय पहिचानलाई राष्ट्रिय एकताको सूत्र मान्यो । ‘चिबेचरा’ को पहिचानमाथि जुलुम गर्दै त्यसलाई राष्ट्रिय स्तरमा उकास्ने कुनै सम्बोधन भएन ।
सोझो अर्थमा भन्नुपर्दा नेपाली भन्नाले राज्यले खसभाषी र दौरा-सुरुवाललाई मात्र अङ्कित गर्ने कुटिलता देखायो । त्यसले कयौं पहिचानलाई सीमान्त बनाइदियो । सत्ताको मातमा मात्तिएर हजारौं वर्षको इतिहासलाई ओझेल पार्न खोजियो ।
यो सामाजिक र सांस्कृतिक थिचोमिचो मात्र थिएन आर्थिक दलन पनि थियो । त्यसको प्रतिरोधमा दमित स्वर मौका पाउने बित्तिकै स्वाभाविक रूपले मुखर भए । चिबेचराहरू सधैं दपेटिएर बस्न सक्दैनन् ।
पहिचानको उफान भित्रभित्र उम्लिएर बाहिर पोखियो, जसलाई दबाउन राज्य असफल भयो । दुई सय ५० वर्ष लामो स्थापत्य धुलिसात भएपछि विविध पहिचानले आफ्नो आकार लिए । तिनले राज्यमाथि अनेकौं प्रश्नको वर्षा गरे जस्तो कवितामा चिबेचराले प्रश्न गरेको छ । वास्तवमा यो विद्रोहको स्वर हो ।
यही स्वरलाई मैले कवितामा बुन्ने प्रयत्न गरेको हुँ । पहिचान गुमिरहेको यो भुमण्डलीकरण र उपभोक्तावादी युगमा यसको सान्दर्भिकता अझ बढेको जस्तो लाग्छ ।
कविताको बुनोट कस्तो भयो त्यसमा मेरो कुनै दाबी छैन । विषय राम्रो छान्दाछान्दै मिहेनतको कमीले धेरै कविता फेल हुन्छन् । म अन्तरवस्तुलाई ध्यान दिएर सचेततापूर्वक कविता लेख्छु, जसले गर्दा धेरैजसो कला र भावनात्मक पक्ष खुस्किएका हुनसक्छन् ।
जे होस्, ‘चिबेचरा’ कवितालाई धेरैले मन पराइदिनुभएको छ, जसप्रति म आभार प्रकट गर्छु ।

चिबेचरा
म पनि हुँ यो देशको एउटा चरा
यही देशको एउटा रुखमा
बनाएको छु मैले आफ्नो गुँड
म उड्छु यहीँको खुल्ला आकाशमा
म यहीँ काढ्छु आफ्ना बचेरा
र हुर्काउँछु
तर, किन भइनँ म
यो देशको राष्ट्रिय चरा ?
के राष्ट्रिय चरा हुन
डाँफेको जस्तै रङ्गीन प्वाँख नै हुनुपर्छ ?
के मयुरले झैं
रङ्गीन प्वाँखहरु फिँजारेर
दर्शकको लागि नाच्नैपर्छ ?
के कोइलीको झैं
मधुर आवाजमा गाउनैपर्छ ?
तिमीलाई घृणा लागे पनि
मेरो निख्खर कालो रङ
यो देशका अनेकौं रङहरूमध्ये
एउटा रङ हो
तिमीलाई बोझिलो लागे पनि मेरो पहिचान
म यो देशका अनेकौं पहिचानहरूमध्ये
एउटा पहिचान हुँ
मेरो पनि दाबी छ-
म यो देशको राष्ट्रिय चरा हुँ
सुनकै पिँजडामा थुनिए पनि
गाउँदिनँ म तिम्रो लागि-
गोपीकृष्ण कहु
म होइन तिम्रो शान्तिको प्रतीक परेवा
म होइन-
तिम्रो भ्यालेन्टाइनको प्रतीक जोडी चखेवा
म केही पनि होइन तिम्रो लागि
तर, कालो र लामो पुच्छर भएको
कुरूप नै सही
म यो देशको एउटा चरा हुँ
मेरो पनि दाबी छ-
म यो देशको राष्ट्रिय चरा हुँ
यो देशलाई हुरीले उडायो भने
खस्नेछ मेरो गुँड पनि रुखबाट
र मर्नेछन् मेरा बचेराहरू
यो देशमा सूर्य मर्‍यो भने
मेरो पनि अन्त्य हुनेछ त्यस दिन
म यो देशका लागि
दिन सक्छु मेरा सबै प्वाँखहरू
बरु, तिमी जान सक्छौ बसाइँ सरेर
अर्कै टापुमा
म भने कालो र लामो पुच्छर फिरफिर हल्लाउँदै
चिरबिराइरहनेछु यही देशको गीत
यही देशको एउटा रुखमा
बनाएको छु मैले आफ्नो गुँड
म उड्छु यहीँको खुल्ला आकाशमा
म यहीँ काढ्छु आफ्ना बचेरा
र हुर्काउँछु
तर, किन भइनँ म
यो देशको राष्ट्रिय चरा ?
यो लेख अनलाईनखबर डटकमबाट साभार गरिएको हो 
२०७३ माघ २२ गते ९:४० मा प्रकाशित

पृथ्वीनारायणले नेपाल बनाएका होइनन्, नेपाल खोसेर बर्बाद बनाएका हुन् ।

ज्वजलपा सकसित
संघियता आवश्यक छ वा छैन भन्ने बहसको विविध पक्षहरुमध्य देशको बिखण्डिकरणको सवाल एक प्रमूख पक्ष हो । विशेषत: संघीयता बिरोधीहरु पृथ्वीनारायणले नेपाल नबनाएको भए आज हामीले नेपाली भन्न समेत नपाइने उडन्ते कल्पना तेर्साउँछन । त्यस्तो हाइपोथेटिकल तर्कको कुनै वजन हुँदैन, तैपनि त्यो तर्क दिनेहरुको मनस्थीतिमा पृथ्वी नारायणले नै नेपाल बनाएको भन्ने पञ्चायति शिक्षा र बाहुनबादी मान्यताले जबरजस्त घर गरेर बसेको छ भन्ने प्रष्ट बुझिन्छ । तर नेपाल पृथ्वी नारायणले बनाएको नै होइन । बनीबनाउ नेपालको उत्कर्षकालमा पृथ्वी नारायण नेपालमा एक शिसु विद्यार्थीको रुपमा पसे, एक हमलाकारी राजाको रुपमा छिरे, एक आतंकबादी नेताको रुपमा कज्याए, एक भष्मासुर सन्कीको रुपमा सारा नेपालीलाइ बरबाद बनाएर छोडे । तपाइलाइ लाग्दो हो, यो आधारहीन आरोप हो, म यहाँ तल यी बिचारहरु कुन कुन तथ्यमा टेकेर गरीएको विश्लेषण हो, खुलस्त पार्ने छु ।
पृथ्वी नारायणले शिशु अवस्थामा नै नेपाल-खाल्डोमा अध्ययन गरे । यदि उनको शिक्षादिक्षा नेपालमा भन्दा गोर्खामा राम्रो हुँदो हो त उनलाइ नेपालमा पठाइने नै थिएन । यसरी विद्यार्थीको रुपमा प्रवेश गरेका पृथ्वी नारायण नै कालान्तरमा नाकाबन्दी लगाउने र हमलाकारी बन्ने आततायी काम गर्न अघि सरे । लडाइमा पराजय स्वीकार गरेका जनताको नाककान काटेर उनले अमानवीय आतंकबादीको परिचय पनि दिए । उनको शासन बिरुद्ध आवाज उठाउनेला गोर्खेलौरी कस्ने देखि लिएर सार्वजनिक रुपमा फाँसि दिने सम्म कार्य गरेर आतंकको बलमा दरवार र जनता कज्याएर बसे । यस्तो जघन्य अपराध गरेको मान्छेको कर्तूतलाइ ढाकछोप गरी उनलाइ नेपाल एकिकरण गरेको ब्यक्तिको रुपमा अझै पनि हेर्ने वा दावि गर्ने मुठ्टीभरका मानिसहरु छन, जो सुस्त मनस्थीतिका बिमार झै बेला बेला पृथ्वी नारायणले नेपाल निर्माण गरेका हुन भन्न अघि सर्छन् ।
वास्तवमा नेपालको निर्माण पृथ्वी नारायणले गरेको हैन । महाभारतको पुराण साक्षी छ, वृन्दावनमा कृष्ण, हस्तिनापुरमा कौरव पाण्डवहरुको माथपच्ची चलेको द्वापर यूग मा नै नेपाल  महायुद्धमा सामेल हुन सक्ने हैसियतका साथ निर्माण भइसकेको देश थियो । तत्पश्चातको कुरा गर्ने हो भने भारतीय उपमाहद्वीपमा अलेक्जेण्डरको हमलाकारी सेना प्रवेश हुँदै गरेको अवस्थामा नेपाल सामरीक र आर्थिक रुपमा एक शक्तिशाली देशको अस्तित्त्व कायम राखी तात्कालीन अन्तरदेशीय सरोकारहरुमा सहभागिता जनाउने हैसियतमा रहेको थियो । देशको सिमाना समयक्रममा फैलिने र खुम्चिने हुन्छ नै । सम्राट अशोकको पालामा पूर्वमा ईण्डोनेशिया देखि पश्चिममा इरान सम्म फैलिएको भारत देश बेलायतिहरुको कव्जामा परेको बखत साना-साना टुक्रामा छिन्नभिन्न थिए । ती टुक्रालाइ एक एक गर्दै उपनिवेश बनाएको बेलायतले पछि छोडेर जाँदा पाकिस्तान र हिन्दुस्तान गरी २ देश मात्रै छोडे । त्यसो भए के पाकिस्तान र हिन्दुस्तानको निर्माता बेलायत हुन सक्छ? कि बेलायतको माहारानीलाइ भारतको निर्माता, पाकिस्तानको निर्माता भनेर उपमा दिन मिल्छ? कदापि मिल्दैन, किन कि तिनले आएर भारत बनाइदिएको हैन, तिनले आएर भारत हडपेको हो र पछि छोडेर गएको हो । ठीक त्यसै गरी पृथ्वीनारायण र तिनका सेनामेनाले आएर नेपाल हडपेको हो, बनाएको होइन ।
पृथ्वीनारायणले सानो सानो देश जोडेर ठूलो दह्रो देश नबनाएको भए नेपालको अस्तित्त्व बाँकि रहने थिएन होला, सानो सानो टुक्रामा विभाजित बाइसे,चौविसे, मल्ल, सेन राजाहरु कमजोर हुनाले बेलायतको अधिन परिसकेको हुनेथियो होला भन्ने तर्क गर्नेहरु पनि धेरै छन् । यी तर्कहरु पनि हाइपोथेटिकल हुन् । वास्तवमा बाइसे, चौविसे, मल्ल तथा सेन राज्यहरु संघिय राज्यहरु थिए । स्थानिय क्षेत्रमा स्थानीय शासनको अभ्यास गरीरहेका थिए । तिनीहरुमाझ एउटा दह्रिलो केन्द्रीय समन्वय एकाइ नहुँदा ती संघीय एकाइहरु छुट्टाछुट्टै राज्य जस्ता देखिएका हुन । मल्ल राजाहरुकै उदाहरण लिउँ । पाटनमा राजा बनाउन लायक मल्ल यूवराज नहुँदा तिनले भक्तपुर वा काठमाँडौबाट मल्ल यूवराजलाइ बोलाएर राजा बनाउथे । छुट्टै देश भएको भए यस्तो संभव हुन्थ्यो होला? भारतमा राष्ट्रपतिको चुनाव अनिर्णित भयो भने पाकिस्तानबाट मान्छे बोलाएर राष्ट्रपति बनाउने कुरा सोच्न सकिन्छ? कदापि सकिन्न, किन कि यी दुइ छुट्टा छुट्टै देश हुन् । तर भारत भित्र नै उत्तरप्रदेशको मानिस राष्ट्रपति हुन अयोग्य भए बिहार वा मध्यप्रदेशको मानिसलाइ राष्ट्रपति बनाउन नसकिने कुरै छैन । यो दृष्टिकोणबाट हेर्दा काठमाडौ, पाटन, भक्तपुर छुट्टाछुट्टै राज्य भएतापनि छुट्टाछुट्टै देश थिएनन्, एकै देशका संघीय एकाइहरु थिए भनी बुझ्नु पर्ने हुन्छ । यस्तै गरी बाइसे वा चौविसे क्षेत्र पनि संघीय राज्यहरु नै थिए, सानो सानो देशहरु थिएनन् ।
पृथ्वीनारायणले नेपाल बनाइदिएर हामी नेपाली भन्दै गर्व गर्न पाएको भन्ने तर्क गर्नेहरु पनि छन् । तर यो पनि बेठीक तर्क हो । पृथ्वीनारायणले नेपाल हडपेपछि नेपालीहरु गर्व गर्न नसक्ने हुत्तिहारामा परिणत भएको उदाहरन छ । मल्लकालमा नेपालमा राजनीतिक सिमाना नेपालमण्डलकै वरीपरी सिमित भएता पनि नेपाल दह्रिलो अर्थतन्त्र थियो, शक्तिशाली थियो । वरपरका छिमेक देशले आदर र इज्जत गर्ने देश थियो । तर पृथ्वीनारायणको कब्जामा परेपछि नेपाल कमजोर बन्यो, पिछौडा बन्यो, गरीब बन्यो, भाडाको सिपाहि पठाउने देश बन्यो,  मागिखाने मगन्ते बन्यो । अहिले संसारभरी भरीया कामदार निर्यात गरेर गुजारा गर्ने हुत्तिहारा बन्यो । थुक्क, यत्तिको गिर्दा पनि आँखा खोल्दैन ?
अहिले अमेरीका संसारमा नं १ शक्तिशाली भइ बसेको छ, किन संसारले अमेरीकालाइ नं १ मा राखेको हो? त्यसको मानक के हो? हातहतियार वा आणविक क्षमताका कारण शक्तिशाली भनेको भए रुसको आणविक भण्डार अमेरिका भन्दा बढी छ । जनसंख्या चीन र भारतमा बढी छ । क्षेत्रफल रुस र क्यानडामा बढी छ । कुन मानकले अमेरिका शक्तिशाली नं १ बनेको हो त? त्यो मानक भनेको मुद्रा हो । अमेरीकि डलर आज संसारको साझा मुद्रा जस्तै छ, सबैतिर त्यसको मान्यता छ । संपूर्ण यूरोप मिलेर साझा मुद्रा यूरो बनाउँदा पनि अमेरिकी डलर नै स्थायी विश्वास जितेर संसारको अर्थप्रणालीको मेरुदण्ड बनेर बसेको छ । अमेरीकि डलरको स्थान जुन दिन खस्किन्छ अमेरिकाको शक्ति त्यहि दिनबाट ओरालो लाग्न थाल्नेछ । डलरले राज चलाउने बेलासम्म अमेरीका ऋणमा चुर्लुम्मै डुबे पनि अमेरीकाको ५० टुक्रामा बिभाजित भए पनि वा अमेरीकाको सिमाना नेपाल भन्दा सानो क्षेत्रमा खुम्चेपनि अमेरीका प्रभावशाली राष्ट्र नै दरीने छ । प्रभावशाली राष्ट्र नभएको अवस्थामा तिनको मुद्रालाइ कुनै बिदेशीले भाउ दिदैन, माया गरेर बचाएर राख्दैन, इज्जत दिदैन, सम्मान दिदैन । जस्तै, सोभियत संघ पतनको बेला रुबलको पतन कसरी भयो? अर्जेन्टिनाको पेसो ध्वस्त हुँदा अर्जेन्टिनाको के हालत भयो? जापान शक्तिशाली हुँदै आएपछि येनको स्थीति कुन हालतमा छ? चीनको शक्ति बढ्दै जाँदा युआनमाथि कस्तो दबाव रहेको छ? कद्दाफिको पतन अघि र पछि लिबियाको मुद्राको के हालत भयो?
मुद्राको शक्ति कति ब्यापक छ भन्ने कुरा नेपालीलाइ थाहा नै छैन, किन कि नेपाली जनतालाइ यो बारेमा केहि पनि पढाइएको नै छैन । इतिहास साक्षि छ तिब्बत र मुगल शासित भारतमा नेपालको मुद्रा चल्थ्यो । तिब्बत हालको नेपाल भन्दा ५ गुणा ठुलो, र मल्लहरुले राज्य गरेको नेपालमण्डल भन्दा झण्डै ५० गुणा ठुलो देश हो भने मुगल शासित भारतीय राज्य पनि तात्कालिन नेपाल भन्दा ३०-४० गुणा ठुलो राज्य हो । अब भन्नुस यति सानो नेपाल राज्यको मुद्रा त्यत्रो ठूलो ठूलो देशहरुमा चल्ने, तर ती देशहरुको मु्द्रा अन्त नचल्ने, यस्तो कसरी संभव भएको थियो होला? तिब्बतको मुद्रा समेत नेपालमा बन्ने गर्थ्यो त्यो बेलामा । त्यस्तो कसरी संभव भयो होला? स्मरण रहोस, केहि वर्ष अगाडि नेपालको मुद्रा भारतमा छाप्न खोज्दा नेपालमा ठूलो विवाद र बहस भएको थियो, र अन्त्यमा मु्द्रा छाप्न तेस्रो देश (अष्ट्रेलिया) लगियो । अर्थमामिलामा छिमेक देशलाइ हतपत विश्वास गरिदैन । भारत र पाकिस्तान बीच मुद्रा छपाइ र नक्कलि नोटको विषयमा सँधै किचलो छ । तर नेपालले छिमेकि तिब्बतको मुद्रा छाप्थ्यो भने मुगल राज्यमा नेपाली मुद्रामा कारोवार गर्न कुनै रोकटोक थिएन । नेपालमा मुगल मुद्रा प्रयोग भएको देखिन्न । के तिनले नेपालको सिको गरी आफ्नै मुद्रा बनाएर वरपर छिमेकी इलाकामा प्रयोग गर्ने चाहना राखेनन् होला?
के ती मुगल वा तिब्बति बादशाहहरुले दया गरेर नेपालको मुद्रा स्वीकारेको होला? होइन । तिनको दयाले होइन । त्यो बेलाको नेपाली सुझबुझ र विकासका कारण नेपालीले यस्तो अवसर पाएका हुन् ।
कसरी एउटा सानो क्षेत्रमा प्रशासनिक रजाइ चलाइरहेको नेपालले यस्तो ठूलो जिम्मेवारी लिने सौभाग्य पायो होला? एउटा सानो देशको निमित्त यस्तो शक्तिशाली बन्न सम्भव तब मात्रै हुन्छ जब त्यो देश समृद्ध शक्तिशाली, विश्वसनीय, भरोसायोग्य दह्रो अर्थतन्त्र भएको, तथा असिमित श्रृजनात्मक शक्तिका साथ प्रविधि विकासमा नेतृत्त्वदायि स्थीतिमा रहन सक्छ । मल्लकालीन नेपाल देस त्यस्तो वैभवमा बसेर हिन्दकुश हिमाल क्षेत्रमा आर्थिक राज गरेर बसेको देश थियो । यसकारण नेपालको मु्द्रा सर्वस्वीकार्य रह्यो । मुद्राको गुणस्तर कायम राख्नु साह्रै ठूलो जिम्मेवारी हो । जुन नेपालले पुरा गर्न सकेको हुनाले नै यसको प्रयोग उत्तर दक्षिण पूर्व पश्चिम सबैतिर हुन गयो ।  मुद्राको प्रयोग हुन जानु भनेको नेपालको गौरव थियो, नेपालीले गर्व गर्न सक्ने विषय थियो । नेपालको शक्तिको विम्व थियो । नेपालको समृद्दिको चिनो थियो ।
तर जब मल्लकालको अवसान भयो, नेपालको मुद्राको अवसान भयो । मुद्रा छपाइ प्रविधि सित सम्बन्धित मानिसहरु सबै बेरोजगार बने । नेपाल भित्र बाहिरको अर्थतन्त्र ठप्प भयो । नेपाल गरीविको चक्करमा पिसिन थाल्यो । नेपालले उत्तर दक्षिण पूर्व पश्चिमबाट पाइरहेको मान र शान गुम्यो । समाज र सभ्यता बिकासको गति ठप्प बन्यो । सम्पूर्ण देश बरबादीको यात्रामा लम्क्यो । प्रविधि, ब्यापार, ब्यवस्थापन र बचनका भरपर्दा हस्तिको रुपमा नाम र दाम कमाएका नेपालीको परिचय लुटेरा, हिंस्रक, आततायी, हमलाकारी, बलत्कारी, क्रूर आदि को रुपमा परिणत भयो । के पृथ्वी नारायणले हामी नेपाली लाइ दिएको यहि होइन त? के देशको इतिहासमा भएको यस्तो अवनतिमा गौरव गर्न सक्ने कुनै कुरा बाँकि छ? नेपाल र नेपालीले हासिल गरीसकेको प्राविधिक, ब्यवस्थापकिय तथा कुटनीतिक ज्ञानको भण्डार नष्ट गरेर नेपाली समाजलाइ ढुँगे यूगमा फर्काउने कामको जग हालेका पृथ्वी नारायणको बुद्धि भष्मासुरको बुद्धि भन्दा कुन अर्थमा फरक छ? त्यसैले मैले माथि लेखेको हो कि पृथ्वी नारायणले एक भष्मासुर सन्कीको रुपमा सारा नेपालीलाइ बरबाद बनाएर छोडे । जसको प्रतिफल आज नेपाल संसारकै हरिकंगाल देशको परिचय बोकेर बस्न बाध्य छ । संसारभरी भरीया कामदार पठाउने देशको रुपमा चिनिएको छ । ल यो कुरा हैन भन्ने कसैको हिम्मत छ?

यो लेख अनलाईन पोर्टल "इसमता"बाट साभार गरिएको हो 

ऋषि धमलाद्वारा अल्ट्रा धाविका मिरा राई सम्मानित

ऋषि धमलाद्वारा अल्ट्रा धाविका मिरा राई सम्मानित February 3, 2017 इसमता संंवाददाता काठमाडौं, माघ २१ । नेपाली अल्ट्रा धाविका मिरा राईलाई हिमाली कला संघले सम्मान गरेको छ। 

शुक्रबार नेशनल जियोग्राफीले सन् २०१७ का लागि घोषणा गरेको एड्भेन्चरर्स अफ दि इयरको पिपुल्स च्वाईस अवार्ड जितेर देशको शीर उच्च बनाउने काम गरेको भन्दै राईलाई संघले सम्मान गरेको हो ।

 रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले देशको नाम विश्वमा चिनाउन सफल खेलाडीहरूलाई उत्साहित र उर्जावान् बनाउनको लागि सञ्चारकर्मीले कुनैपनि कसर बाँकी नराख्ने बताउँदै मिरा राईलाई दोसल्ला र ताम्रपत्रले सम्मान गरेका हुन् । उक्त सम्मान कार्यक्रममा मिरा राईका बालाजु कराते एकेडेमीका अध्यक्ष एव्म अन्तराष्ट्रिय रेफ्रि धुव्र विक्रम मल्ल पनि सम्मानित भएका छन् ।

 कार्यक्रममा मिरा राईले अझैपनि देशको नामलाई उचाईमा पुर्याउन र भावी पुस्ताका भाईबहिनीलाई पनि उत्साहित बनाउनमा आफु प्रतिवद्ध रहने बताईन् । 

 यो समाचार अनलाईन पोर्टल "इसमता"बाट साभार गरिएको हो

Thursday, February 2, 2017

ब्यवहारिक जीवनमा दर्शन – १

अरस्तुका अनुसार वस्तुको तात्विक गुण (essential property) र सांयोगिक गुण (accidental property) हुन्छ । जस्तै: “मान्छे विवेकशील प्राणी हो ।”, ” सुकरात विवेकी ब्यक्ति थिए ।” यहाँ विवेकी हुनु सुकरातको essential property हो , यदि विवेकी नहुने हो भने त्यो ब्यक्ति सुकरात हुन सक्दैनन् । सुकरात त के उनी मान्छे नै हुन सक्दैनन् किनकि विवेकशील हुनु मान्छेको essential property हो । तर “सुकरातको नाक टेंढो थियो” भन्दा नाक टेँढो हुनु उनको accidental property हो, उनको नाक टेँढो नभएको भए पनि उनी सुकरातै हुन्थे । र, नाक टेँढो भैकन पनि उनी मान्छे नै हुन्थे, ढेंडु हुन्थेनन् ।

यहाँ हामी एकातिर कुन तात्विक गुण हो र कुन सांयोगिक गुण हो भन्ने कुरैमा रनभुल्ल परिरहेका देखिन्छौं , लेख्नेहरु मोडल बनिरहेका, मोडलहरु गायक बनिरहेका, गायकहरु नायक बनिरहेका, नायकहरु नेता बनिरहेका, नेताहरु दलाल बनिरहेका, हगि? अर्कोतिर सांयोगिक गुणहरुलाई नै तात्विक गुणको रुपमा परिभाषित गरिरहेका पनि छौं, जस्तै: बाहुन कुलमा जन्मेपछि विद्वान हुनुपर्ने, दलित कुलमा जन्मेपछि हेपिनु पर्ने, महिला योनिमा जन्मेपछि अबला मानिने, आदि, हगि? यसै सन्दर्भमा एउटा जोक यस्तो छ; १०० किलोको रामेले साँझ बिहानै हाइकिङ गई गई, सात्विक भोजन गरी गरी, बडो निष्ठामा बसेर आफ्नो तौल घटाएछ । जब ऊ ५५ किलोको भयो, त्यसै दिन गाडीले ठक्कर दिएछ ।
मृत्युशैय्याबाट उसले भगवानलाई भनेछ ,” हे भगवान, यो के गरेको? कति कष्टले म फर्ममा आएको थिएँ ..” यमराजले भनेछन्,” ए तिमी त रामे पो! सरी है मैले त चिनिनँछु, अब के गर्नु!” , भनेर टिपेर लगेछन् ।
 यसरी भगवान नै तात्विक गुण (essential property) र सांयोगिक गुण (accidental property) मा फरक छुट्याउन असमर्थ भएछन् 😉

 तर तपाईं भने आफ्नो तात्विक गुणहरु (essential property) र सांयोगिक गुणहरु (accidental property) चिन्नुस् , र न दु:ख पाउनुहोस्! जस्तो कि; तपाईंसँग धन भएन भने पनि तपाईंको छोरीको लागि तपाईं मायालु बाबा बन्न सक्नुहुन्छ, धनी हुनु बाउ हुनुको लागि सांयोगिक गुण (accidental property) मात्र हो ।

तर तपाईं छोरीको लागि मायालु र कर्तब्यपरायण बाबु हुनु भएन भने सायद उनको लागि बाउ नमानिन सक्नुहुन्छ , किनकि मायालु हुनु, कर्तब्यपरायण हुनु बाउ हुनुको essential property होला ।

 यो लेख Hatteri.com बाट साभार गरिएको हो ।
प्रस्तुति: रबाखारा ।

Saturday, March 30, 2013

"मुना मदन" देवकोटाको आफ्नै सृजना हैन,

Labha Ratna Tuladhar,...

~ देवकोटाको मुना-मदन सम्वन्धमा ~ यो छोटो काव्य यथार्थ मा नेपाल भाषा को एउटा पुरानो 'गीति कथा' मा आधारित रहेको कुरो ३५-४० वर्ष अगाडी नै एक जना समालोचक , शायद दयाराम श्रेष्ठ (सम्भव) ले विस्तृत विवरण र प्रमाण दिएर 'रचनाकार' नामक एउटा खस साहित्यिक पत्रिका मा निकाल्नु भएको थियो. यसको खण्डन आज सम्म कसै बाट नभएको हुनाले वहाँले अघि सार्नु भएको तथ्य नै 'मुना मदन' को कथानक देवकोटा को आफ्नै नभएको पुष्टि गर्न काफी छ. त्यस कालजयी नेवाल गीत को बोल यस्तो रहेको छ - " जी वोया ला लच्छी मदुनी , छि काय सन्दे वने धाल , थुगु छ्बार लिगना दिसने