लेख्नुपर्ने विषयको चौरस्तामा उभिएर म कविता सोच्ने गर्छु । मानिस र समाज मेरा कविताका मूल जरा हुन् । कवितामा समाजको प्रतिबिम्बन हुनु मेरो लागि घाम जत्तिकै आवश्यक कुरा हो । समाजलाई परहेज गरेर कविता लेख्न सकिन्न ।
केही लेखक/कवि भन्छन्- समाज लेख्नेले दैनन्दिनी मानवीय जीवन वा प्रेमको वास्ता गर्दैनन् । तर, प्रेम मानिसको मात्र अभिन्न अङ्ग होइन, यो समाजको फेबिकोल हो ।
खोलाको पानी जस्तै हो समाज । यो प्रवाहशील हुन्छ । एउटै खोलाको किनारमा हामी उभिए पनि पानीको एउटा प्रवाह बगेर अर्को प्रवाह आइसकेको हुन्छ । हामीले उभिएर हेरिरहेको पानी एउटै हुँदैन । कवि हुन खोज्नेले समाजको यस प्रवाहलाई पर्गेल्न सक्नुपर्छ ।
नेपाली साहित्यमा एकातिर सामाजिक यथार्थवादले साहित्यलाई बिगार्यो भन्नेहरू छन् । तिनीहरू साहित्यलाई उत्ताउलो तुक्का र स्वैरकल्पनामा पौडी खेलाउन चाहन्छन् । समाजलाई दिग्भ्रमित बनाउने यस्तो पागल प्रलापलाई साहित्य भन्न सकिन्न । ती समाजका लागि घातक हुन्छन् ।
अर्कोतिर, समाजमा दुःखसुख र जीवन सङ्घर्षका जटिलताहरूलाई साहित्यमा उन्न लागिपर्ने समूह पनि छ ।
मेरो लगाव दोस्रो समूहतिर छ ।
समाजमा दमित सीमान्त आवाजलाई मुखर बनाउन मैले ‘चिबेचरा’ कविता लेखेको हुँ । मानिसको अहिलेसम्मको अस्तित्वको लडाइँलाई यसमा उधिन्न खोजेको छु । आफ्नो पहिचान महान् भन्दै अरुमाथि दमन र अत्याचार गर्दै अर्काको पहिचानलाई दुत्कार्ने विरुद्ध कविता केन्द्रित छ ।
पहिचान भन्नेबित्तिकै निश्चित जातजाति र सम्प्रदायिकतामा लगेर जोडिदिने प्रचलन एउटा दिग्भ्रम हो, सत्यलाई गुमराहमा पार्ने प्रयास हो । हरेक जातिको आफ्नो पहिचान, संस्कृति र प्रणाली हुन्छ जसलाई राज्यले समान व्यवहार गर्नुपर्छ । त्यस्तै, हरेक व्यक्तिको पनि आफ्नो पहिचान, आफ्नो पन र स्वत्व हुन्छ ।
देश एउटा व्यक्ति वा जातिको होइन, यो सबैको हो र सबैले त्यत्तिकै देशप्रेम गरिरहेका हुन्छन् भन्ने सन्देश यो कवितामा प्रवाह गर्न खोजेको छु । आवश्यक पर्दा हरेकले देशका लागि आहुति दिन सक्छन् र दिएका पनि छन् । ‘चिबेचरा’ देशप्रेमको प्रतीक हो । यसको सान्दर्भिकता अझै छ भन्ने मेरो ठम्याइ छ ।
नेपालका कुलीन शासकले नरभक्षी पिशाच जस्तै समयको टाउकोमा टेकेर आफ्नो भद्दा तान्डव नृत्य प्रदर्शन गरे । सोझासाझा जनहरू निम्छरो भएर घरभित्रै लुकिरहे । तर, तिनले अनेक सङ्घर्ष मार्फत घरबाहिर आउने प्रयत्न जारी राखे । अन्ततः ती बाहिर निस्के । जब ती बाहिर आए बाँकी सबै नरमुण्डधारीहरू दृश्यबाट गायव भए ।
एकाङ्गी राज्यले राष्ट्रिय चरा भन्नाले डाँफेलाई मात्र बुझाउने कार्य गर्यो । डाँफेको रङलाई मात्र चिनायो । बाँकी रङ वर्जित भए, तिनलाई परचक्रीको व्यवहार गरियो । कलुषित राज्यले एकल जातीय पहिचानलाई राष्ट्रिय एकताको सूत्र मान्यो । ‘चिबेचरा’ को पहिचानमाथि जुलुम गर्दै त्यसलाई राष्ट्रिय स्तरमा उकास्ने कुनै सम्बोधन भएन ।
सोझो अर्थमा भन्नुपर्दा नेपाली भन्नाले राज्यले खसभाषी र दौरा-सुरुवाललाई मात्र अङ्कित गर्ने कुटिलता देखायो । त्यसले कयौं पहिचानलाई सीमान्त बनाइदियो । सत्ताको मातमा मात्तिएर हजारौं वर्षको इतिहासलाई ओझेल पार्न खोजियो ।
यो सामाजिक र सांस्कृतिक थिचोमिचो मात्र थिएन आर्थिक दलन पनि थियो । त्यसको प्रतिरोधमा दमित स्वर मौका पाउने बित्तिकै स्वाभाविक रूपले मुखर भए । चिबेचराहरू सधैं दपेटिएर बस्न सक्दैनन् ।
पहिचानको उफान भित्रभित्र उम्लिएर बाहिर पोखियो, जसलाई दबाउन राज्य असफल भयो । दुई सय ५० वर्ष लामो स्थापत्य धुलिसात भएपछि विविध पहिचानले आफ्नो आकार लिए । तिनले राज्यमाथि अनेकौं प्रश्नको वर्षा गरे जस्तो कवितामा चिबेचराले प्रश्न गरेको छ । वास्तवमा यो विद्रोहको स्वर हो ।
यही स्वरलाई मैले कवितामा बुन्ने प्रयत्न गरेको हुँ । पहिचान गुमिरहेको यो भुमण्डलीकरण र उपभोक्तावादी युगमा यसको सान्दर्भिकता अझ बढेको जस्तो लाग्छ ।
कविताको बुनोट कस्तो भयो त्यसमा मेरो कुनै दाबी छैन । विषय राम्रो छान्दाछान्दै मिहेनतको कमीले धेरै कविता फेल हुन्छन् । म अन्तरवस्तुलाई ध्यान दिएर सचेततापूर्वक कविता लेख्छु, जसले गर्दा धेरैजसो कला र भावनात्मक पक्ष खुस्किएका हुनसक्छन् ।
जे होस्, ‘चिबेचरा’ कवितालाई धेरैले मन पराइदिनुभएको छ, जसप्रति म आभार प्रकट गर्छु ।
चिबेचरा
म पनि हुँ यो देशको एउटा चरा
यही देशको एउटा रुखमा
बनाएको छु मैले आफ्नो गुँड
म उड्छु यहीँको खुल्ला आकाशमा
म यहीँ काढ्छु आफ्ना बचेरा
र हुर्काउँछु
तर, किन भइनँ म
यो देशको राष्ट्रिय चरा ?
यही देशको एउटा रुखमा
बनाएको छु मैले आफ्नो गुँड
म उड्छु यहीँको खुल्ला आकाशमा
म यहीँ काढ्छु आफ्ना बचेरा
र हुर्काउँछु
तर, किन भइनँ म
यो देशको राष्ट्रिय चरा ?
के राष्ट्रिय चरा हुन
डाँफेको जस्तै रङ्गीन प्वाँख नै हुनुपर्छ ?
के मयुरले झैं
रङ्गीन प्वाँखहरु फिँजारेर
दर्शकको लागि नाच्नैपर्छ ?
के कोइलीको झैं
मधुर आवाजमा गाउनैपर्छ ?
डाँफेको जस्तै रङ्गीन प्वाँख नै हुनुपर्छ ?
के मयुरले झैं
रङ्गीन प्वाँखहरु फिँजारेर
दर्शकको लागि नाच्नैपर्छ ?
के कोइलीको झैं
मधुर आवाजमा गाउनैपर्छ ?
तिमीलाई घृणा लागे पनि
मेरो निख्खर कालो रङ
यो देशका अनेकौं रङहरूमध्ये
एउटा रङ हो
तिमीलाई बोझिलो लागे पनि मेरो पहिचान
म यो देशका अनेकौं पहिचानहरूमध्ये
एउटा पहिचान हुँ
मेरो पनि दाबी छ-
म यो देशको राष्ट्रिय चरा हुँ
मेरो निख्खर कालो रङ
यो देशका अनेकौं रङहरूमध्ये
एउटा रङ हो
तिमीलाई बोझिलो लागे पनि मेरो पहिचान
म यो देशका अनेकौं पहिचानहरूमध्ये
एउटा पहिचान हुँ
मेरो पनि दाबी छ-
म यो देशको राष्ट्रिय चरा हुँ
सुनकै पिँजडामा थुनिए पनि
गाउँदिनँ म तिम्रो लागि-
गोपीकृष्ण कहु
म होइन तिम्रो शान्तिको प्रतीक परेवा
म होइन-
तिम्रो भ्यालेन्टाइनको प्रतीक जोडी चखेवा
म केही पनि होइन तिम्रो लागि
तर, कालो र लामो पुच्छर भएको
कुरूप नै सही
म यो देशको एउटा चरा हुँ
मेरो पनि दाबी छ-
म यो देशको राष्ट्रिय चरा हुँ
गाउँदिनँ म तिम्रो लागि-
गोपीकृष्ण कहु
म होइन तिम्रो शान्तिको प्रतीक परेवा
म होइन-
तिम्रो भ्यालेन्टाइनको प्रतीक जोडी चखेवा
म केही पनि होइन तिम्रो लागि
तर, कालो र लामो पुच्छर भएको
कुरूप नै सही
म यो देशको एउटा चरा हुँ
मेरो पनि दाबी छ-
म यो देशको राष्ट्रिय चरा हुँ
यो देशलाई हुरीले उडायो भने
खस्नेछ मेरो गुँड पनि रुखबाट
र मर्नेछन् मेरा बचेराहरू
यो देशमा सूर्य मर्यो भने
मेरो पनि अन्त्य हुनेछ त्यस दिन
म यो देशका लागि
दिन सक्छु मेरा सबै प्वाँखहरू
बरु, तिमी जान सक्छौ बसाइँ सरेर
अर्कै टापुमा
म भने कालो र लामो पुच्छर फिरफिर हल्लाउँदै
चिरबिराइरहनेछु यही देशको गीत
खस्नेछ मेरो गुँड पनि रुखबाट
र मर्नेछन् मेरा बचेराहरू
यो देशमा सूर्य मर्यो भने
मेरो पनि अन्त्य हुनेछ त्यस दिन
म यो देशका लागि
दिन सक्छु मेरा सबै प्वाँखहरू
बरु, तिमी जान सक्छौ बसाइँ सरेर
अर्कै टापुमा
म भने कालो र लामो पुच्छर फिरफिर हल्लाउँदै
चिरबिराइरहनेछु यही देशको गीत
यही देशको एउटा रुखमा
बनाएको छु मैले आफ्नो गुँड
म उड्छु यहीँको खुल्ला आकाशमा
म यहीँ काढ्छु आफ्ना बचेरा
र हुर्काउँछु
तर, किन भइनँ म
यो देशको राष्ट्रिय चरा ?
बनाएको छु मैले आफ्नो गुँड
म उड्छु यहीँको खुल्ला आकाशमा
म यहीँ काढ्छु आफ्ना बचेरा
र हुर्काउँछु
तर, किन भइनँ म
यो देशको राष्ट्रिय चरा ?
यो लेख अनलाईनखबर डटकमबाट साभार गरिएको हो
२०७३ माघ २२ गते ९:४० मा प्रकाशित



